बुटवल, कतिपय यात्राहरू गन्तव्यमा पुगेर मात्र सुरु हुँदैनन्। केही यात्राहरू त घरबाट निस्किएको पहिलो पाइला, बसको झ्यालबाट देखिने रातको सुनसान सडक र मनभित्र गुजुल्टिँदै गरेको अनौठो उत्साहसँगै सुरु भइसकेका हुन्छन्। हाम्रो तिलिचो-थोराङ ला पास यात्रा पनि त्यस्तै थियो-जहाँ गन्तव्यभन्दा बढी बाटो आफैँमा एउटा सुन्दर कथा बनेर पोखिइरहेको थियो।
पाइला-पाइलामा भेटिन्छन् प्रकृतिका अनेक रूप,
हिँड्दै जाँदा बदलिन्छ जिन्दगीकै मूल स्वरूप।
न त थकानको प्रवाह, न त उकालाको डर,
जब मनै पुग्छ हिमालको चिसो काखभरि…
कम्प्युटरको अँध्यारो स्क्रिन, दिनभरका पिक्सेल, कोडिङका जटिल लाइनहरू र डिजिटल मार्केटिङको निरन्तर दौडधुपलाई केही दिनका लागि परै पन्छाएर मैले प्रकृतिसँग एउटा अलौकिक सम्झौता गरेको थिएँ। पापाङ्कुशा एकादशीको त्यो कात्तिक ८, २०८० (अक्टोबर २५, २०२३) को साँझ, जब पूरा सहर चाडपर्वको चटारोमा थियो, मेरो मन भने हिमाली शून्यताको पर्खाइमा उद्वेलित भइरहेको थियो। जीवनकै यो पहिलो र साहसिक हिमाली पदयात्रामा म एक्लो थिइनँ। मसँगै मेरो भाइ सुदीप, मेरो आत्मीय साथी सन्देश र आदरणीय दाजु सन्दिप गरी हामी चार जनाको एउटा सानो तर ऊर्जावान् टोली थियो।
रातको ठ्याक्कै ८ बजे बुटवलको कोलाहललाई पछाडि छाड्दै हामी पोखरा जाने बसमा सवार भयौँ। हाम्रो बाटो भने सोझै पोखरा नभई नारायणगढ हुँदै तनहुँको डुम्रे बजारतिर मोडिनुपर्ने थियो। झ्यालबाट बाहिरको अँध्यारो र चिसो हावा सरसरिरहँदा मनभित्र भने एउटा अनौठो उकुसमुकुस चलिरहेको थियो-पहिलो पटक हिमाली भूगोलमा जाँदाको डर र विशाल हिमालहरूलाई आफ्नै आँखाले चुम्ने अद्भूत उत्साह। कात्तिक ९ गते बिहानको करिब ५ बजेतिर मिर्मिरेमै बसले हामीलाई डुम्रे चोकमा ओरालिदियो। तनहुँको त्यो बिहानी चिसोमा मर्मर हावा चलिरहेको थियो, जसले हामीलाई लमजुङ र मनाङको नजिकै पुगेको न्यानो आभास दिलाउँथ्यो।
डुम्रे चोकमा ओर्लिँदा हामीसँगै बसबाट झरेका करिब १७–१८ जनाहरू पनि मनाङकै यात्रामा हिँडेका रहेछन्। छिटो अघि बढ्ने हुटहुटीमा केहीले हाइस समातेर बाटो लागिसकेका थिए भने हामी बेंसीसहर जाने स्थानीय बसको पर्खाइमा नै थियौँ। बेंसीसहर जाने बस छुट्ने समय बिहान ७ बजेको रहेछ। करिब दुई घण्टाको त्यो पर्खाइमा हामीले यात्राको पहिलो चिसो महसुस गर्यौँ। बेंसीसहर पुगेपछि भने हामीले यात्राको असली तयारी सुरु गर्यौँ। हुन त हामीले प्रोटिनयुक्त नास्ता र अत्यावश्यक औषधीहरू घरबाटै बोकेका थियौँ, तर अगाडिको कठिन बाटोलाई सम्झेर चाउचाउ, चकलेट र कोकाकोला जस्ता उर्जा दिने खाजाहरू बेंसीसहरकै पसलहरूबाट खरिद गर्यौँ।
बेंसीसहरबाट खाङ्सारसम्मको लागि प्रतिव्यक्ति ३,००० रुपैयाँ भाडा तय गरी हामी अन्य यात्रीहरूसँग मिसिएर एउटा बोलेरो जिपमा सवार भयौँ। बिहान ११ बजे जिपले अगाडिको उकालो बाटो समात्दा मर्स्याङ्दी नदीको गर्जन हाम्रा कानमा गुञ्जिन थालिसकेको थियो। यात्राको केही बेरमै हामीले भुलभुले सुरुङ मार्ग पार गर्यौँ। माथिल्लो मर्स्याङ्दी A जलविद्युत् आयोजनाका लागि बनेको यो टनेल पहाडको पेट खोलेर बनाइएको एउटा अनौठो नमुना थियो। गाडीभित्रैबाट सुरुङ पार गर्दाको अनुभव निकै रोमान्चक थियो। पहाडका घुम्तीहरू पार गर्दै जाँदा १२:२५ मा हामी ‘हम खोला झरना’ नजिकै पुग्यौँ। पहाडको माथिल्लो भागबाट छङछङ गर्दै खसिरहेको त्यो सेतो छहरा र त्यसको बाक्लो चिसो बाफले यात्राको थकानलाई एकैछिनमा पखालेर लगिदियो। त्यहीँ नजिकै पेटभरि मीठो खाना खाएर हामी फेरि आफ्नो गन्तव्यतर्फ लाग्यौँ।
अगाडिको बाटो झन्-झन् साँघुरो र रोमान्चक बन्दै गइरहेको थियो। बाहुनडाँडा नजिकैको ‘ताघरिङ झरना’लाई गाडीकै झ्यालबाट नियाल्दै १ बजेतिर हामी ‘अक्टोपस झरना’ पुग्यौँ। नाम जस्तै, पहाडका चट्टानहरूबाट अक्टोपसका हातहरू फिँजारिए झैँ विभिन्न दिशाबाट खसिरहेको त्यो पानीको स्वरूप साँच्चै नै कलात्मक देखिन्थ्यो। जिपबाट ओर्लिएर चिसो पानीका छिटाहरू अनुहारमा पर्दा शरीरमा एउटा अलौकिक ताजगी छायो। त्यसको केही बेरमै, करिब १:२० मा जिप मर्स्याङ्दीको कञ्चन किनारमा बसेको प्रसिद्ध ‘ताल भ्याली’को माथिल्लो सडकमा रोकियो। गाडीबाट तल उपत्यकातिर हेर्दा मानौँ कुनै महान् चित्रकारले पहाडको काखमा आफैँ चित्र कोरेर सजाएको जस्तो देखिन्थ्यो। मर्स्याङ्दीको किनारमा ४०–५० वटा कलात्मक घर, होटेल र होमस्टेहरू लामबद्ध थिए भने त्यसको ठीक पछाडि विशाल ताल झरना झरिरहेको थियो।
खोलाको दोभान, पहाडको काख, प्रकृतिको छटा,
जहाँ पुग्दा हराउँछ मनका सबै व्यथा।
ढुङ्गा र माटोमै लुकेको छ संसारकै सुन्दर रूप,
न त सहरको हल्ला, न त प्रविधिको धूप…
पहाडका कठिन बाटा र जिपको निरन्तर धक्काले शरीर थाक्न थालेको थियो। दिउँसो ३:१० मा हामी ‘कोटी’ भन्ने स्थानमा पुग्यौँ। त्यहाँको ठिहीमा तातो चियाको बाफ उडिरहेको थियो। यहाँ एउटा गज्जबको मोड आयो-मैले विगत ६ वर्षदेखि चिया पिउन पूर्ण रूपमा छाडेको थिएँ। तर हिमाली हावाको त्यो चिसो र थकानका बिच कोटिको त्यो तातो चियाको चुस्कीले मलाई पुन: चियाको स्वादसँग जोडिदियो। त्यो चिया केवल पेय पदार्थ थिएन, हिमाली काखमा थकान मेटाउने एउटा सञ्जीवनी मन्त्र जस्तै थियो।
चियाको तागतसँगै अघि बढेको हाम्रो जिप साढे ४ बजेतिर चामे-५, मदामा रहेको एउटा विशाल र अनौठो चट्टान अगाडि पुगेर रोकियो। त्यो कुनै साधारण पहाड थिएन-एउटै ढिक्का ढुङ्गाले बनेको विशाल चट्टान थियो, जसलाई स्थानीयहरू ‘स्वर्गद्वारी’ भन्दा रहेछन्। पौराणिक किम्बदन्ती अनुसार पाण्डवहरू स्वर्ग जाँदा यही चट्टानको बाटो भएर उक्लिएका थिए रे। यो किम्बदन्ती इतिहास हो या लोककथा, त्यो त थाहा भएन, तर प्रकृतिले बनाएको त्यो विशाल चट्टानी संरचना देख्दा जोसुकैको मनमा पनि ईश्वरको अस्तित्वप्रति विश्वास जागेर आउँछ।
अविरल र निरन्तर २४ घण्टाको कठोर यात्रापछि, रातिको ८:३० बजे अन्ततः हाम्रो जिप ३,६०० मिटरको उचाइमा रहेको खाङ्सार पुगेर रोकियो। गाडीबाट ओर्लिँदा शरीर गोग्गियो जस्तै थाकेको थियो, तर बाहिरको दृश्यले हाम्रा सबै थकान एकैपटक हरण गरिदियो। पूर्णिमा आउन केवल ४ दिन मात्र बाँकी थियो। रातको निष्पट्ट अँध्यारोमा पनि आकाशमा चम्किरहेको पूर्णचन्द्रको उज्यालोमा महेन्द्र पिक चाँदी जस्तै टलकल टल्किरहेको थियो। कालो पहाडको पृष्ठभूमिमा सेतो हिमालको त्यो ‘ब्ल्याक एन्ड व्हाइट’ संयोजन यति अद्भुत थियो कि लाग्यो-हामी पृथ्वीमा होइन, कुनै अर्कै काल्पनिक र चामत्कारिक ग्रहमा आइपुगेका छौँ।
कालो त्यो रातमा पनि जूनको थियो प्रकाश,
चाँदी झैँ टल्किन्थ्यो हिमाल, मुस्कुराउँथ्यो आकाश।
थकान सबै बिर्सिएर मन भयो फुरुङ्ग,
जहाँ टेकेका थियौँ हामीले सपनाको सुरुङ्ग…
हामी खाङ्सारको ‘ITAM PEAK Hotel and Lodge’ मा बस्यौँ। तातो खाना खाएर, भोलिपल्ट तिलिचो तालको अझै कठिन र उकालो यात्राको लागि शरीरलाई आराम दिँदै जब म सिरकभित्र छिरेँ, मनमा एउटै कुरा खेलिरहेको थियो-सुरुवाती २४ घण्टामै प्रकृतिले यति धेरै कलात्मक रूप देखाइसक्यो भने, अगाडिको यात्रा कति अलौकिक र साहसिक होला?